बुटवल ।
रुपन्देहीको क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल लगातार चौथो पटक जित निकाल्ने दाउसहित चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनको उमेदवारी खारेजीपछि चुनावी दौडमा केही दिन पौडेल एक्लै थिए ।
नेकपा एसका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीलाई समर्थन गरेपछि भने चुनावी माहोल केही फेरिएको छ । लगातार तीन पटक चुनाव जितेर ह्याट्रिक गरेका पौडेललाई जनमुक्तिका कार्यकारी अध्यक्ष केशवबहादुर थापा टक्कर दिने प्रयासमा छन् ।
एमाले उम्मेदवार पौडेल आफूले गरेका विकासको प्रभाव सोध्दै र आगामी विकास योजना सुनाउँदै मतदातालाई रिझाइरहेका छन् । ‘मैले को–को उम्मेदवार छन् ? उनीहरू के भन्छन् ? के गर्छन् ? कसको समर्थन कसलाई छ ? कसलाई छैन ? त्यसबारे वास्ता गरेको छैन,’ पौडेलले भने, ‘आफूले गरेका विकासका कामको प्रभाव सोध्दै र आगामी दिनमा के गर्न सकिन्छ भन्दै एमाले र मेरा लागि भोट माग्दै हिँडेको छु ।’
थापा पनि सत्ता गठबन्धनको समर्थन पाएपछि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । संयुक्त चुनावी योजनासहित पाँचदलीय गठबन्धनसहित उनी पनि मत माग्न घरदैलोमा व्यस्त छन् ।
बुटवलका स्थायी बासिन्दा भए पनि थापा संसदीय निर्वाचनमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । गठबन्धनको समर्थन जुटाएर एमालेका उपाध्यक्षसमेत रहेका पौडेललाई पराजित गर्ने उनको दाबी छ । ‘सत्ता गठबन्धनका सबै मत जनमुक्तिलाई आउने हो भने जितिन्छ,’ उनले भने, ‘त्यसैमाथि हाम्रो भोट पनि ८ देखि १० हजार मत थपिएका छन् ।’ रुपन्देही २ बाट चुनाव जितेर गोरेबहादुर खपांगीले स्थापना गरेको पार्टीलाई पहिलोपटक प्रत्यक्षबाट संसद्मा पुर्याउने उनको धोको छ ।








