वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु–१ (१) मा निवर्तमान प्रदेश सांसद एमालेका विष्णु पन्थीलाई बाम लोकतान्त्रिक गठबन्धनका डोलक घिमिरेले चुनौती दिँदैछन् ।
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका घिमिरे तुलनात्मक रूपमा ढुक्क देखिन्छन् । यस क्षेत्रको विकासका लागी विभिन्न परियोजना अघि सारेर पूर्णता दिने मौकाका रूपमा उनले आफूलाई प्रस्तुत गरिरहेका छन् ।
उनले लुम्बिनी प्रदेश सरकारमा कपिलवस्तुको समग्र विकासका एजेण्डा प्रभावकारी प्रस्तुत गर्न आफु सक्षम रहेको दाबी गरे । हालसम्म प्रदेश सरकारले कपिलवस्तुलाई हेर्ने दृष्टिकोण संकुचित रहेको बताउँदै उनले भने, ‘कपिलवस्तु जिल्लालाई प्रदेशको एक केन्द्रको रुपमा मानि विकासका विभिन्न ठूला परियोजना संचालन गर्न आवश्यक छ ।’
चुनाव जित्नेमा ढुक्क देखिएका घिमिरे घरघरमा पुगेर भोट मागिरहेका छन् । “ल है म प्रदेश सभा सदस्यको उम्मेदवार भएँ, भोट आफूले पनि हाल्नुहोला अरूलाई पनि हाल्न लाउनुहोला,” घिमिरेले भन्ने गरेका छन्, “अबको पाँच वर्ष अझ फरक र प्रभावकारी रूपमा तपाइहरुसँगै रहनेछु ।”
उनले त्यसो भन्दा कतिपय मतदाता हुन्छ हुन्छ भनेर टाउको हल्लाउँछन् भने कतिपयले ‘तपाईंले यहाँ किन भोट माग्नुप¥यो र ? अर्को ठाउँमा माग्नुहोला यता हामी नै कुरा गरिरहेका छौँ’ भन्दै थिए ।
चुनाव जित्नुहुन्छ त ? प्रश्न खस्न नपाउँदै घिमिर्ले जवाफ दिए, “तपाईंले देखिहाल्नुभयो । घरघरमा फुलमालासहित स्वागत भइरहेको छ । मनमा अरूकै नाम राखेर पक्कै पनि स्वागत गर्नुभएको छैन होला,” घिमिरेले भने, “म निर्वाचन क्षेत्रका जतिपनि ठाउँमा गएको छु, यस्तै सद्भाव पाएको छु । त्यसैले निर्वाचन नजिकिँदै गर्दा अझ आत्मविश्वास बढेको छ ।”








