वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार रहेका डोलकराम घिमिरेले आइतबार एकै चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाएकोमा मतदातालाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन, २०७९ मा मतदान गर्नु नागरिक अधिकारको उच्चतम् अभ्यास भएको बताउँदै उनले धन्यवाद दिएका हुन् ।
उनले विभिन्न मतदान स्थलमा आफु पुग्दाँ सकारात्मक प्रतिक्रिया पाएको बताउँदै आफ्नो जित सुनिश्चित गरेको दोहोर्याए ।
उनले आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा प्रतिविम्बित गरेको बताए । जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको उनको भनाइ छ ।
घिमिरेले जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आमनिर्वाचनको ऐतिहासिक महत्व रहेको बताए ।
कपिलवस्तुका तीन वटै निर्वाचन क्षेत्रमा निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गरेकोमा उनले खुशी समेत व्यक्त गरे ।
आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै जाने उनको विश्वास छ ।








