काठमाडौं ।
काठमाडौं-९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।
श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित भएका हुन् । श्रेष्ठका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याए । त्यस्तै नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत ल्याइन् ।
२०७४ सालको निर्वाचनमा एमाले नेता श्रेष्ठले २२ हजार ८ सय ५२ मत ल्याएर निर्वाचित भएका थिए ।
मन्त्री श्रेष्ठको जन्म वि.सं २०१५ साल असोज १५ गते काठमाडौंमा भएको हो । उनी २०४८ सालमै सांसद भएका हुन्। उनले अर्थशास्त्रमा एमए गरेका छन् । श्रेष्ठ २०३८ सालमा पार्टीको काठमाडौं जिल्ला कमिटी सचिव भए । श्रेष्ठ २०४२ सालमा भक्तपुर र २०४६ सालमा ललितपुरको पार्टी सचिव भएका थिए ।
२०४७ सालमा अखिल नेपाल किसान संघको सचिव भएका श्रेष्ठ २०५४ सालमा नेकपा एमालेको काठमाडौं उपत्यका कमिटी सचिव बनेका थिए । २०५४ सालदेखि उनी नेकपा एमालेको केन्द्रीय सदस्य भएका थिए । २०६१ सालमा उनी स्थानीय विकास राज्यमन्त्री भएका थिए ।
२०४८ सालको आम निर्वाचनमा मदन भण्डारीले छाडेको काठमाडौं क्षेत्र नम्बर ५ मा भएको उपनिर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए । यस्तै २०५१ को आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित भएका थिए । श्रेष्ठ २०४८, २०५१ मा काठमाडौं ७ बाट , २०७४ मा काठमाडौं ९ बाट जितेका थिए ।
२०६४ र २०७० को संविधानसभा निर्वाचनमा भने श्रेष्ठ काठमाडौं ९ बाट पराजित भएका थिए । २०७० को संविधानसभा निर्वाचनमा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसंग पराजीत भएका थिए । उनी यसबीचमा पटकपटक मन्त्री भइसकेका छन् ।