कतारमा जारी फिफा विश्वकपमा आज चार खेल हुँदैछन्। आज हुने पहिलो खेलमा उपाधि दाबेदार अर्जेन्टिनाले एसियाली प्रतिद्वन्दी साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘सी’ को खेलमा आज दिउँसो पौने ४ बजे यी दुई टोली लुसइल स्टेडियममा आमनेसामने हुनेछन्।
लियोनल मेस्सीको कप्तानीमा उत्रने अर्जेन्टिना अपराजित यात्रालाई लम्ब्याउँदै ३६ वर्षपछि विश्वकपको उपाधि जित्न चाहन्छ। पछिल्ला ३६ खेलयता अर्जेन्टिनाले पराजय व्यहोरेको छैन। अघिल्लो वर्ष कोपा अमेरिका जितेको अर्जेन्टिनालाई यसपाला विश्वकप उपाधिको प्रमुख दाबेदारहरु मध्येमा हेरिएको छ।
अर्कोतर्फ फिफा वरीयतामा ५१ औं स्थानमा रहेको साउदीलाई अर्जेन्टिनालाई रोक्ने चुनौती हुनेछ। साउदीका प्रशिक्षक हेर्भी रेनार्डले विश्वकपमा छनोट हुनु सपना भएको भन्दै ठूला टोलीलाई सक ‘रिजल्ट’ दिने लक्ष्य रहेको बताए।
‘संसारका उत्कृष्ट टोलीहरू सधैं जित्ने उद्देश्यले आउँछन्, तर त्यहाँ सधैं अप्ठ्यारोहरू हुन्छन्। जब तपाईं प्रतियोगितामा साना टोलीहरू मध्ये एक हुनुहुन्छ, तपाईंले ‘सकिङ नतिजा’मा भर पर्नु पर्छ’ उनले भनेका छन्।
अर्कोतर्फ अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले दबाब नभएको भन्दै साउदीको टिमबारे राम्रो जानकारी भएको बताए।








