गृहपृष्ठ Featured फिफा विश्वकप : मोरक्कोसँग बराबरीमा रोकियो क्रोएसिया

फिफा विश्वकप : मोरक्कोसँग बराबरीमा रोकियो क्रोएसिया

फिफा विश्वकपको समूह ‘एफ’अन्तर्गत बुधबार भएको पहिलो खेलमा क्रोएसिया र मोरक्कोबीचको खेल गोलविहीन बनेको छ। गोलका लागि दुवै टिमले सिर्जना गरेका अवसरको सदुपयोग गर्न नसक्दा गोलरहित बराबरी खेल्दै अंक बाँडे।

आठौं मिनेटमा बायाँतर्फबाट नोसेर माजरावीले गरेको प्रहार क्रोएसियन डिफेन्डर डेजान लोभरेनले ब्लक गरेका थिए। मोरोक्कोले पुन: १२औं मिनेटमा काउन्टर अट्याकको कोसिस गरेको थियो।

हाकिम जिएचले पेनाल्टी एरियामा युसेफ एन नेसिरीलाई भेट्टाउने कोसिस गरेक थिए। तर, क्रोएसियन डिफेन्डर जोस्को ग्राभिडोलले उनको प्रयास सफल हुन दिएनन्।

जिएचले १८औं मिनेटमा दिएको पास एन नेसिरीले फेरि नियन्त्रणमा लिन नसक्दा उत्तर अफ्रिकी मुलुक अग्रता लिने सुन्दर मौकाबाट वञ्चित भएको थियो।

क्रोएसियाका निकोला भ्लासिचले २२औं मिनेटमा गरेको प्रहार मोरक्कोका डिफेन्डरलाई ठोक्किएर कर्नरमा परिणत भएको थियो। त्यो कर्नरमा सन् २०१८ विश्वकपको उपविजेताले कुनै मौका बनाउन सकेन।

मोरक्कोका सोफियानी बोफलले ५१औं मिनेटमा गरेको लामो प्रहारमा फेरि एक पटक क्रोएसियन सेन्टर ब्याक लोभरेन बाधक बने। दोस्रो हाफको सुरुआतमा हाइ प्रेस गरेको मोरक्कोविरुद्ध क्रोएसियन कप्तान मोड्रिचले ५७औं मिनेटमा गरेको प्रहार फ्रेममा परेन।

असरफ हाकिमीले ६४औं मिनेटमा प्रहार गरेको सशक्त फ्रि-किकलाई क्रोएसियन गोलकिपर डोमिनिक लिभाकोभिकले पञ्च आउट गरेका थिए।

कप्तान मोड्रिचले ७२औं मिनेटमा फ्रि-किकमार्फत गरेको क्रस मार्को लिभाजाले भेट्टाए पनि सशक्त प्रहार गर्न सकेनन्।

निर्धारित ९० मिनेटमा गोल हुन नसक्दा विश्वकपमा पहिलो पटक आमनेसामने भएका युरोपेली मुलुक क्रोएसिया र उत्तर अफ्रिकी मोरक्कोले १-१ अंक बाँडेका छन्। यसअघि सन् १९९६ मा हसन ट्रफीमा भएको भेटमा क्रोएसियाले पेनाल्टीमा ७-६ को जित निकालेको थियो।

क्रोएसियाले पछिल्ला दुई विश्वकपमा खेलेका दुई खेलमा अफ्रिकी मुलुकलाई पराजित गरेको थियो। सन् २०१४ मा ब्राजिलमा क्यामरुनलाई ४-० ले हराएको मोड्रिचको टिमले २०१८ मा नाइजेरियाविरुद्ध २-० को जित निकालेको थियो।

समूह ‘एफ’कै अर्को खेलमा बुधबार राति बेल्जियम र क्यानडा खेल्ने छन्।

सम्बन्धित् समाचार