काठमाडौं ।
प्रतिनिधिसभामा सप्तरीमा एक सिटमात्र जितेको जनमत पार्टी पनि राष्ट्रिय पार्टी बन्ने भएको छ ।
सीके राउत नेतृत्वमा मधेस प्रदेशमा प्रभाव देखाएको पार्टी जनमतले राष्ट्रिय हैसियत बनाएसँगै कम्तिमा चार सिट पाउने पक्का भएको छ ।
समानुपातिकतर्फ ९८ लाख २१ हजार ५६१ मतगणना हुँदा जनमत पार्टीले तीन लाख ३६ हजार ३८ मत पाएको छ । जुन कुल मतको तीन दशमलव ४२ प्रतिशत हो । अन्तिम गणनासम्म यो प्रतिशत घटेन भने जनमत पार्टीले समानुपातिकतर्फ चार सिट पाउने छ ।
त्यसो हुँदा प्रत्यक्षमा एक सिटमात्र जितेको जनमत पार्टी राष्ट्रिय पार्टी मात्र नभएर संसद्मा लोकतान्त्रिक समाजवादी पार्टीभन्दा ठूलो सातौँ हैसियतको पार्टी बन्नेछ ।
नेकपा (एकीकृत समाजवादी) भने जनमतभन्दा ठूलो पार्टी बने पनि राष्ट्रिय दलको हैसियत नै नपाउने दल बन्ने अवस्था देखिएको छ ।
आफूभन्दा कम सिट जितेका राप्रपा, राट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्ने पक्का हुँदा एकीकृत समाजवादी समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन संघर्ष गरिरहेको छ ।








