नेपालीमा एउटा उखान छ, ‘जसको शक्ति उसकै भक्ति । लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार निर्माण गर्न यस्तै हुने अवस्था देखिएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट लुम्बिनी प्रदेशसभामा कुनै पार्टी तथा गठबन्धनको बहुमत नपुग्ने लक्षण देखिएपछि यस्तो अवस्था आएको हो ।
प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणामले सत्ता गठबन्धन र एमाले कसैको पनि सरकार बनाउन बहुमत पुग्ने देखिँदैन । यस्तो अवस्थामा जसले नेतृत्व लिएर बहुमत जुटाउन र अरु दललाई विश्वासमा लिन सक्यो उसकै नेतृत्वमा सरकार बन्न सक्ने देखिन्छ ।
प्रत्यक्षमा ५२ सिटमध्ये राष्ट्रिय दलतर्फ एमालेले सबै भन्दा धेरै १८ सिट र नेपाली काँग्रेसले १७ सिट जितेको छ । यस्तै माओवादीले ५ सिट जितेको छ । ५२ प्रत्यक्ष र ३५ समानुपातिक गरी ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतको सरकार बनाउन ४४ सिट चाहिन्छ ।
लुम्बिनीमा समानुपातिक मतका आधारमा संख्या जोड्दा पनि एमाले र नेपाली काँग्रेसको प्रदेशसभा सदस्य संख्या हाराहारी हुने देखिन्छ । यद्यपि दुवै दलहरू आ–आफ्नो नेतृत्वमा सरकार बनाउने कसरतमा छन् ।
२०७४ सालमा स्पष्ट बहुमत आएको नेकपा विभाजनपछि शंकर पोखरेल नेतृत्वको सरकारलाई हटाउँदै काँग्रेस–माओवादी गठबन्धनमा माओवादी केन्द्रका कुलप्रसाद केसीको नेतृत्वमा सरकार बनेको थियो । अहिले फेरि कसैको स्पष्ट बहुमत नआउने अवस्था हुँदा मिलीजुली सरकार बनाउनु पर्ने अवस्था रहेको छ । प्रत्यक्षमा एमाले १८, नेपाली काँग्रेस १७, माओवादीको ५ र माओवादीबाट बागी उठेका ३ जना निर्वाचित हुँदा जसपा, लोसपा, राप्रपा र नागरिक उन्मुक्ति पाटीका उम्मेदवारले दुई दुई सिट जितेका छन् । यस्तै जनमत पार्टीले १ सिट जितेको छ ।
हालसम्मको मतगणनाअनुसार समानुपातिकतर्फ एमालेले ११, कांग्रेसले १०, माओवादीले ४, राप्रपाले २, नागरिक उन्मुक्ति पार्टीले २, जनमतको २ तथा जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा र जनमोर्चाको १–१ सिट आउने देखिन्छ ।
यसरी हेर्दा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चा मात्रै मिलेर सरकार बनाउन बहुमत पुग्ने देखिँदैन । तर, माओवादीका बागी, लोसपा, जनमतसहितका एक सिट भएका पार्टीलाई समेट्दा गठबन्धनले सरकार बनाउन सक्ने आँकडा देखिन्छ । यो गठबन्धनका लागि सहज पनि हुन सक्छ । उसो त गठबन्धनले लोसपा र माओवादीका बागीलाई समेट्न सकेको खण्डमा पनि ४३ सिट हुन आउँछ । यो अवस्थामा जनमत पार्टी वा नागरिक उन्मुक्ति पार्टीलाई गठबन्धनले साथमा लिन सक्छ ।
यस्तै एमालेको हकमा उसको एक्लै २९ सिट पुग्ने भएकाले गठबन्धन विग्रेको खण्डमा उसको लागि सरकार बनाउने अवसर हुन सक्छ । अहिले रहेको सत्ता गठबन्धन कायम रहेमा नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने सम्भावना बढी छ । यदि गठबन्धन तलमाथि भएमा एमालेलेको नेतृत्वमा सरकार बन्ने छ ।








