रुपन्देही ।
लुम्बिनी प्रदेशबाट संघ तथा प्रदेशका बहालवाला ९ जना मन्त्री चुनावी मैदानमा गएपनि ५ जनाले मात्र जित निकाल्नसके । ४ जना संसदबाट बाहिरिए पनि झण्डावाला गाडी भने छाडेका छैनन् । संघका तीन जना तथा प्रदेशका ६ जना मन्त्रीहरू चुनावमा होमिएका थिए ।
संघीय सरकारमा रहेका गृहमन्त्री बालकृष्ण खाँण, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज तथा सहरी विकास मन्त्री मेटमणि चौधरी चुनावी मैदानमा रहेपनि चौधरीमात्रै विजयी भए ।
गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही क्षेत्र नम्बर ३ बाट मैदानमा थिए । उनी राप्रपाका दीपक बोहोरासँग पराजित भए । सत्तारुढ गठबन्धनसहित नेसपा, लोसपा, जनमुक्तिबाट साझा उम्मेदवार बनेका खाणले ३४,०३६ मत ल्याउँदा एमाले र जसपाको साथ पाएका बोहराले ३६,७१७ मत पाएर गृहमन्त्री खाँणलाई पराजित गरेका हुन् ।
संघीय सरकारमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज बाँके क्षेत्र नम्बर १ बाट एमालेका सूर्यप्रसाद ढकालसँग पराजित भएका छन् । गहतराज २०७४ सालमा बाम गठबन्धनबाट चुनाव जितेका थिए । गहतराजले १९,६३२ मत पाउँदा एमालेका ढकालले २५,०२६ मत ल्याउँदै विजयी भए । गहतराज अहिले सत्ता गठबन्धनको बलमा सोही क्षेत्रबाट मैदानमा गए पनि जनताले पत्याएनन् ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले अन्तिम अवस्थामा पार्टी नै छाडेपनि जनताले पत्याएनन् । उम्मेदवारी दर्ता गर्ने दिन जसपा कार्यालयबाट गएका उनी बीच बाटोमै जसपा छाडेर नेपाली काँग्रेस प्रवेश गरेर गठबन्धनको आधिकारिक उम्मेदार बनेपनि यसअघिको जित कायम राख्न सकेनन् ।
कपिलवस्तु १ को १ बाट उम्मेदार भएका उनी फराकिलो मतान्तरमा यसअघिका प्रतिस्पर्धीसँग पराजित भएका हुन् । सो क्षेत्रबाट एमालेका मधुसुदनशरण चौधरी कुर्मीले ११,७४८ मत ल्याउँदा यादवले ९,०६६ मत मात्रै ल्याएका थिए ।
लुम्बिनी प्रदेशका वन तथा भूसंरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाल नेपाली काँग्रेसबाट बाँके–२(ख) मा प्रदेशसभा सदस्यमा पुनः प्रतिस्पर्धामा थिए तर उनी प्रतिस्पर्धामा समेत आउन नसकेर तेस्रो स्थानमा खुम्चिनुपरेको छ ।
जसपाका आदेशकुमार अग्रवालले ८,२४६ मत ल्याउँदा दोस्रो स्थानमा एमालेका निरक गुरुङले ६,७०९ मत पाएका थिए भने हमालले ६,२४७ मत ल्याएर तेस्रो भएका थिए ।








