दाङ ।
लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक स्थायी राजधानी दाङमै गर्ने तयारी भएको छ। प्रदेशसभा भवनको निर्माण पूरा भई सम्पूर्ण व्यवस्थापनको काम समेत भएको हुँदा नवनिर्वाचित प्रदेश सांसद र लुम्बिनी प्रदेश सरकारको नयाँ बन्ने मन्त्री मण्डललाई दाङ देउखुरीमै शपथ खुवाउने र प्रदेशसभाको बैठक पनि दाङमै राख्ने तयारी भएको प्रदेश संसद् सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए।
अहिले प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सकेर राजधानीका लागि आवश्यक भौतिक पूर्वाधारकै काममा लुम्बिनी प्रदेश सरकार लागेको छ। राजधानीसँग सम्बन्धित भौतिक पूर्वाधारको कामलाई गति दिन रात काम भइरहेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत सारिएको छ।
प्रदेशसभा भवनको काम सकिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रिपरिषद् बैठक कक्ष, प्रदेशका अन्य प्रशासनिक केन्द्र, मुख्यमन्त्री निवास तयार भइसकेका छन्।
पहिलो कार्यकालमा अस्थायी मुकाम बुटवलबाटै भए पनि अबको सबै काम स्थायी राजधानी दाङबाटै सञ्चालन गर्ने गरी भौतिक निर्माणको कामलाई तीव्रता दिइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।








