दाङ ।
दाङको तुलसीपुरमा सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत बबई लिफ्टिङको काम अघि बढेको छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको कार्यालय परिसरमा अन्डरग्राउन्ड ट्यांकी निर्माणको काम सुरु भएको छ । ५६ करोड ८० लाख २४ हजार ६ सय ३० रुपैयाँ लागतमा बबई लिफ्टिङको काम अघि बढेको हो ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारीका अनुसार नेपाल सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ताको ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम बढेको हो ।
जसमा सरकारले ३८ करोड ८३ लाख, १७ हजार दुई सय ४१ र उपभोक्ताको १७ करोड सात लाख तीन सय ८८ रुपैयाँ लाग्छ । अहिले उपभोक्ताको तर्फबाट अहिले पाँच प्रतिशत र बाँकी २५ प्रतिशत नगर विकास समितिबाट ऋण ल्याएर काम अघि बढाइएको छ ।
नगर विकास समितिबाट १४ करोड २२ लाख ५६ हजार एक सय ५८ ऋण लिएको र बाँकी दुई करोड ८४ लाख ५१ हजार दुई सय ३१ रुपैयाँ उपभोक्ताले तिरेका छन् ।
तुलसीपुर–अमिलिया सडकको बबई पुलदेखि पूर्वतिर तीनवटा सम्पवेल (इनारजस्तै पानी संकलन गर्ने प्रविधि) बन्नेछ । त्यसको तीन सय मिटर उत्तरमा ट्रिटमेन्ट प्लान बन्नेछ । जहाँ र्यापिड स्यान्ड फिल्टर दुईवटा सितलपुरमा र मल्टी ग्रेड प्रेसर फिल्टर ६ वटा निर्माण हुनेछन् । मल्टी ग्रेड फिल्टर जहाँ ट्यांकी निर्माण हुन्छ, त्यही स्थानमा निर्माण हुनेछन् ।








