सागर वि.क., वैखरी अनलाईन ।
गौतमबुद्ध सामुदायिक वन उपभोक्ता समूहको बाह्रौ साधारण सभा सम्पन्न भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका वडा ५ र ६ मा रहेको उक्त सामुदायिक वनको आज शनिबार एक कार्यक्रमका बीच साधारण सभा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धभूमि ५ का वडाध्यक्ष रोमबहादुर थापाले वन मानिसको जीवन जिउने मूल आधार भएकाले सबै यसको संरक्षणमा लाग्नुपर्ने बताए । वनका सम्पूर्ण उपभोक्ताहरुको आवश्यकलाई मध्येनजर गरि सहज रुपमा काठ दाउरा उपलब्ध गराउनुपर्ने वडाध्यक्ष थापाको भनाई छ ।

उनले आफु वडाको अभिभावक भएकाले वडासंग सम्बन्धित हरेक पक्षसंग सहकार्य गर्दै अघि बढ्न प्रतिवद्ध रहेको जिकीर गरे । उनले वनका हरेक गतिविधिमा निगरानी गर्दै नमुना सामुदायिक वन बनाउन वडाले सहयोगी भूमिका निर्वाह गर्ने बताए । वनको आम्दानीको स्रोत पहिचान गरेर अघि बढ्न सुझाव दिदैं उनले भने, ‘ दिर्घकालीन रुपमा आम्दानीका स्रोत बन्न सक्ने विकल्पतर्फ ध्यान दिन जरुरी छ ।’
फरक प्रसङ्गमा बोल्दै वडाध्यक्ष थापाले आफु अवलोकन भ्रमणमा जादाँ सामाजिक संजालमा अनावश्यक रुपमा टिका–टिप्पणी भएकोमा आपत्ति जनाए । ‘प्रसङ्गवस मैले भन्न चाहान्छु, हामी नगरपालिकाको स्वीकृत अनुसार नै अनुगमनमा गएका हौं,’ उनले भने, ‘व्यक्तिगत काम लिएर होईन् ।’

कार्यक्रममा वनका अध्यक्ष सुर्यबहादुर मल्लले बार्षिक प्रगति प्रतिवेदन र आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
यस्तै कार्यक्रममा वनका सचिव जैफर हुसेन गद्दीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वनदेवी सामुदायिक वनका अध्यक्ष मोतिलाल यादवको संचालनमा सम्पन्न उक्त कार्यक्रममा पुर्व वडाध्यक्ष बेचनप्रसाद यादव, वनका सहसचिव दुर्गा प्रसाद भूसाल, शान्ति सामुदायिक वनका अध्यक्ष महन्थ केवट, पदम बहादुर क्षेत्री, मिना केसी लगायतले मन्तव्य राखेका थिए ।
यसैबीच वनको सातौ अधिवेशनका विभिन्न प्रक्रिया थालिएको छ । सोही अनुरुप आज सहमति हुन नसकेपछि मंगलबार बस्ने गरि बैठक स्थगित भएको छ ।








