एमाले महासचिव शंकर पोखरेलले आफूहरू प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन्। आइतबार नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३५औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनताले एमालेलाई सरकार गठनको जनादेश नदिएकाले प्रतिपक्षमै बस्ने बताए।
‘एमाले नयाँ जनादेशका लागि पाँच वर्ष कुर्न तयार छ,’ उनले भने, ‘अहिलेको जनादेश हाम्रो पक्षमा नरहेकाले पाँच वर्ष प्रतिपक्षमा बस्न तयार छौँ।’ अहिले पाँचदलीय गठबन्धन सरकार गठनको तयारीमा भए पनि त्यसभित्र पनि कुनै दललाई बहुमत प्राप्त नभएको उनको भनाइ छ।
प्रत्यक्ष निर्वाचनतर्फ दलित समुदायलाई उम्मेदवार बनाएर विजयी बनाउने पार्टीका रूपमा एमाले पहिलो पार्टी बनेको उनको दाबी छ। कार्यक्रममा गत मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा निर्वाचित एमालेका उत्पीडित समुदायका १७ सांसदलाई सम्मान गरिएको थियो।









