केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आज (सोमबार) साँझ भीषण आगलागी भएको छ। जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारस्थित स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगो अहिले नियन्त्रणबाहिर रहेको प्रत्यदर्शीहरुले बताएका छन्।
आगलागीबाट अहिलेसम्म पाँचवटा घर तथा दर्जनबढी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बाक्सिलाले जनाएको छ। प्रहरीका अनुसार दीपक गुरुङ, रमेश परियार, शुभशेर राई र डिल्लीकुमार श्रेष्ठको पूर्णरुपमा जलेर नष्ट भएको हो।
आगलागी नियन्त्रणमा लिन स्थानीय अकबर राईको घर भत्काउने काम भइरहेको गाउँपालिका उपप्रमुख गुरुराज राईले जानकारी दिए।
आगलागीमा परेका अकबर राईबाहेक अन्य सबैको घरमा पसल तथा होटल सञ्चालनमा रहेको गाउँपालिका उपप्रमुख राईले जानकारी दिए। दीपकको घरमा स्थानीय रत्ना गुरुङको कपडा पसल, रमेशको घरमा टेलर्स, शुभशेरको घरमा गाउँपालिका प्रमुख समिर राईको स्टेसनरी पसल तथा सोही घरको माथिल्लो तलामा इन्द्रा राईको होटल रहेको जनाइएको छ।









