रुपन्देही ।
पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न बुटवलमा रोड फूड फेस्टिभल (सडक खाना महोत्सव)हुने भएको छ । होटल व्यवसायी संघ रुपन्देहीले यही पुस १५, १६ र १७ गते अंग्रेजी नयाँ वर्षको अवसर पारेर फेस्टिभल गर्न लागेको हो ।
पर्यटनको सम्भावनालाई पहिचान गरी लुम्बिनी प्रदेशमा धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन यस्तो कार्यक्रमको आयोजना गर्न लागिएको होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए ।
फेस्टिभलमा विभिन्न जातीय परिकार प्रदर्शनीमा राखिनेछ । तीन दिनसम्म सञ्चालन हुने फेस्टिभलमा करिब एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । करिब एकसय वटा स्टल फुड फेस्टिभलमा रहने छन् । बुटवलको नयाँ बसपार्कदेखि तीनकुनेसम्म कालिकापथमा सडक खाना महोत्सव हुने भएको हो ।
संघका अध्यक्ष गौतमका अनुसार महोत्सवबारे आवश्यक तयारी र प्रकृया सुरु गरिएको छ । हरेक बर्षहरुमा गर्दै आएको सडक खाना महोत्सवलाइ यसपटक अझै व्यवस्थित र उत्कृष्ट बनाउने योजनासमेत तय भएको उनले बताए ।









