काठमाडौं ।
कप्तान दीपेन्द्रसिंह ऐरीको चम्किएपछि शनिबार फार वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गर्दै लुम्बिनी अलस्टार्सले नेपाल टी-२० लिगमा विजयी सुरुआत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा लुम्बिनीले प्रस्तुत गरेको एक सय ५३ रनको लक्ष्य पछ्याएको फार वेस्ट १६.२ ओभरमा ८५ रनमा समेटियो ।
फार वेस्टका कप्तान हस्मतउल्लाह साहिदीले सर्वाधिक ३५ बनाए । यस्तै विनोद भण्डारीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
फार वेस्टलाई सस्तैमा समेट्न लुम्बिनीका दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । सागर ढकालले दुई विकेट लिदा प्याट ब्राउन,किशोर महतो र विपुल शर्माले एक/एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङमा लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५२ रनको योगफल तयार पारेको थियो ।








