दाङ ।
लुम्बिनी प्रदेश सरकार स्थायी राजधानी दाङ स्थानान्तरणको काम धमाधम भइरहेको छ । प्रदेश सरकार नै स्थायी राजधानी देउखुरीबाट सञ्चालन गर्ने गरी अहिले मन्त्रालय स्थापनादेखि संसद भवन सिंगारपटारको काम चलिरहेको छ ।
गत मंसिर २८ गते मुख्यन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शुभारसम्मसँगै अस्थायी मुकाम बुटवलबाट मन्त्रालयहरु दाङ ल्याउने काम भइरहेको छ । अहिले स्थायी राजधानी देउखुरीमा प्रदेश सरकार बसाल्नका लागि मन्त्रालयहरु स्थापना गरिएका छन् ।
पूर्वाधार विकास प्राधिकरणका अनुसार स्थायी राजधानी दाङको देउखुरीमा प्रदेश सरकारका १३ वटा मन्त्रालयमध्ये ६ वटा मन्त्रालय प्रशासनिक परिसरभित्र र बाँकी ७ वटा मन्त्रालय परिसर बाहिर स्थापना गरिएका छन् । राप्ती गाउँपालिमा रहेको तत्कालिन राप्ती प्राविधिक शिक्षालय परिसरमा प्रदेश सरकारको प्रशासनिक केन्द्र्र रहनेछ ।
‘मुख्यमन्त्री कार्यालयसँगै ६ वटा मन्त्रालय भित्र हुनेछ’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले भने, ‘बाँकी मन्त्रालयहरु बाहिर सरकारी भवनमा राखिनेछ ।’
उनले प्रदेश सरकार सञ्चालनका लागि सबैजसो मन्त्रालय स्थापना गरेर आन्तरीक व्यवस्थापनको काम भइरहेको बताए ।