केन्द्रमा नयाँ गठबन्धन बनेसँगै लुम्बिनी प्रदेशमा पनि सरकार गठनको आन्तरिक तयारी सुरु भएको छ । प्रदेशमा सबैभन्दा ठूलो दल रहेको एमालेले सरकारको नेतृत्व गर्ने गरी तयारी अघि बढेको हो । यद्यपि सातवटै प्रदेश सरकार भागबण्डाका आधारमा मिलाउँदा तलमाथि भने हुनसक्ने नेताहरु बताउँछन् ।
तर, लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने खालका कुनै नेता नभएकाले एमालेका पोलिटब्युरो सदस्य लिला गिरीले मुख्यमन्त्री पाउने प्रबल सम्भावना छ । ८७ सदस्यीय प्रदेशसभामा एमालेले एक्लै २९ सिट जितेको छ । जसमा गिरी सबैभन्दा सिनियर नेता हुन् ।
विगतमा संघीय सरकारकै गठबन्धनलाई आधार बनाएर वर्तमान सरकार बनेकोले अब बन्ने सरकार पनि संघमा भएको गठबन्धनकै आधारमा बन्ने भएकोले अब लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेका लिला गिरीले पाउने सम्भावना देखिएको हो ।








