रूपन्देही ।
केन्द्रीय सरकारमा नयाँ समीकरण बनेसँगै लुम्बिनी प्रदेशमा एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको तयारी सुरु गरेको छ । केन्द्रमा बनेको गठबन्धनमा प्रदेश मुख्यमन्त्री विभाजनको टुंगो नलागे पनि ठूलो दलको हैसियतले यहाँ एमालेले प्रयास सुरु गरेको हो ।
लुम्बिनीमा ८७ सिटको प्रदेशसभामा २९ सिटसहित एमाले पहिलो दल बनेको छ । कांग्रेस २७ सिटसहित दोस्रो र माओवादी ९ सिटसहित तेस्रो दल बनेको छ । केन्द्रमा भएको गठबन्धनअनुसार लुम्बिनीमा नागरिक उन्मुक्तिका ४, राप्रपाका ४, जसपाका ३ र जनमत पार्टीका ३ सांसद छन् । कांग्रेस गठबन्धनमा रहेको लोसपाका ३, समाजवादी र जनमोर्चाका १/१ सांसद छन् ।
माओवादी निकट ३ नेताले स्वतन्त्रबाट जितेका छन् । केन्द्रको गठबन्धनअनुसार एमाले नेतृत्वमा रहेका ६ पार्टीका ५२ र तीन स्वतन्त्रसमेत गर्दा ५५ मत छ । तीमध्ये नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको मुद्दा फिर्ता नभएसम्म सरकारमा नजाने तर सरकारलाई समर्थन गर्ने नीति लिएपछि लुम्बिनीमा एमाले वा माओवादी नेतृत्वमै सरकार गठनको सम्भावना बढेको हो ।
राप्रपाले पनि समर्थन गर्ने तर सरकारमा सहभागी नहुने नीति लिएको छ ।








