रुपन्देही ।
लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट संघ र प्रदेशमा निर्वाचित सांसदहरुको भेला शुक्रबार बुटवलमा भएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशबाट संघ र प्रदेशमा निर्वाचित सांसदहरु तथा जिल्ला अध्यक्षहरुलाई सम्मान गर्न बोलाएको कार्यक्रममा ती सांसदहरु भेला भएका हुन् ।
बुटवलस्थित प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा संघमा निर्वाचित २१ मध्ये १४ र प्रदेशका २९ जना सांसद सहभागी भएका थिए ।
कार्यक्रममा एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले एमालेविरुद्धको चौतर्फी घेराबन्दीको बीचमा पनि लुम्बिनीका धेरै क्षेत्रमा विजय बनाउने सबै नेतृत्वलाई धन्यवाद दिएका थिए । उनले केही क्षेत्रमा थोरै मतान्तरले पराजित हुनुपरेको र धेरै ठाउँमा घेराबन्दी तोड्न सकेकाले लुम्बिनीमा पार्टीको वर्चश्व कायम रहेको बताएका थिए ।
प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी अनुशासन आयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थी, प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, सचिव लक्ष्मण आचार्यलगायतले अहिलेको निर्वाचनमा पार्टीभित्रको आन्तरिक एकता धेरै बलियो भएको बताएका थिए ।
कार्यक्रममा निर्वाचनमा खटिएका जिल्ला अध्यक्षहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमपछि पार्टीले प्रदेशसभामा खेल्नुपर्ने भूमिका र नयाँ नेतृत्वका विषयमा अनौपचारिक छलफल भएको सांसद विष्णु पन्थीले बताए ।चयन
नयाँ समीकरणसँगै लुम्बिनी प्रदेशको नेतृत्व एमालेले पाउने वा नपाउने विषय नटुंगिएकाले सकेसम्म पार्टी केन्द्रमा दबाब दिएर नेतृत्व लिनुपर्ने सुझाव सांसदहरुले दिएका छन् । एमालेले प्रदेशसभामा शपथअगावै दलको नेतृत्व टुंग्याउने तयारी भए पनि त्यो सम्भव नभएको सांसद चेतनारायण आचार्यले जानकारी दिए ।
प्रदेशसभाले पुस १७ गते देउखुरीमा शपथ कार्यक्रम राखेको छ । उक्त शपथपछि मात्रै दलको बैठक बसेर नेतृत्व गरिने उनले बताए ।
यहाँबाट दलको नेताका लागि पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री लीला गिरी, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री चेतनारायण आचार्य, केन्द्रीय सदस्य भूमिश्वर ढकाल र प्रदेश उपाध्यक्ष एवं पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ आकांक्षी रहेका छन् ।








