रुपन्देही ।
बाँकेको बाल सुधार केन्द्रबाट चारजना बालकहरु फरार भएका छन् । डुडुवास्थित जयेन्दु बाल सुधार गृहमा राखिएका ती बालकहरु बिहीबार राति फरार भएपनि अहिलेसम्म भेटिएका छैनन् ।
अपराधमा मुछिएका बालकलाई उक्त बाल सुधार गृहमा राख्ने गरिएको छ । सुधार गृहबाट जबरजस्ती मुद्दाका धर्म थापा, कृष्ण नगरकोटी र अविनाश पुन तथा कर्तब्य ज्यान मुद्दाका पुरन चौधरी फरार भएकोे प्रहरीले जनाएको छ ।
बाँके प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद घर्तिले फरार रहेका बालकको खोजी भइरहे पनि फेला नपरेको जानकारी दिए ।
बन्दी गृहमा रहेका बालक फरार भएपछि त्यसको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको संयोजकत्वमा समिति गठन गरेको छ ।
समितिमा अनुसन्धान विभाग, प्रहरी र कारागारका प्रतिनिधि छन् ।








