गृहपृष्ठ Featured भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान रोकियो

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान रोकियो

काठमाडाैं । गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि अक्टोबरदेखि मार्चसम्मको समय उत्तम मानिन्छ । अधिकांश पर्यटक यस अवधिमा लुम्बिनी भ्रमणको कार्यक्रम बनाइरहेका हुन्छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पर्यटन व्यवसायी पनि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्नेमा विश्वस्त थिए । तर पर्यटक आउने मुख्य सिजनमा यो विमानस्थलमा हवाई उडान अवरुद्ध हुँदा उनीहरु निराश भएका छन् ।

हाल खराब मौसमका कारण विमानस्थलमा विमान अवतरण गराउन नसक्ने भन्दै उडान स्थगित हुन थालेपछि यहाँको पर्यटन व्यवसाय प्रभावित भएको छ । प्रतिकुल मौसमका कारण बुकिङ रद्द गर्नुपरेको नेपाल टुर्स एन्ड ट्राभल एजेन्ट सङ्घ (नाट्टा)का प्रदेश अध्यक्ष रचना पन्तको भनाइ छ । “लुम्बिनीमा पुस, माघ र फागुनमा बढी पर्यटक घुम्न आउने गरेका छन्”, उहाँले भन्नुभयो, “यस्तो समयमा प्रतिकुल मौसमका कारण उडान रद्द गर्नु पर्दा पर्यटक यहाँ आउन पाएका छैनन् ।”

जाडो र चिसोको समयमा बाक्लो हुस्सुका कारण भिजिविलिटी अत्यन्तै कम हुने भएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो । भैरहवा तथा आसपासमा अहिले घाम नलागेको समयमा भिजिविलिटी दुई सय मिटर हाराहारीमा पुग्छ । घाम लागेको बेला आन्तरिक उडान हुने र नभएको बेला उडान नै नहुने भइरहेको छ ।

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार गत डिसेम्बर २० देखि हिमालयन एयरलाइन्स र २१ डिसेम्बरदेखि जजिरा एयरवेजले उडान स्थगित गरेका छन् । जजिराले डिसेम्बरसम्म उडान स्थगित जानकारी दिए पनि यो मौसमी प्रतिकुलताका कारण यो समयावधि अझै लम्बिन सक्ने देखिन्छ । आन्तरिक उडान पनि मौसमकै कारण नियमित भइरहेको छैन ।

विमानस्थलमा उपकरण अवतरण प्रणाली (इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम–आइएलएस) जडान छ । तर कार्यान्वयनमा भने आउन सकेको छैन । आइएलएस रेडियो नेभिगेशन प्रणाली हो । जसले विमानलाई राति वा खराब मौसममा पनि अवतरणमा सहयोग गर्छ । आइएलएस प्रणाली कार्यान्वयन गर्दा लागि भारतीय आकाश पनि प्रयोग गर्नुपर्ने हुनसक्छ । यसका लागि भारत सरकारको स्वीकृति आवश्यक पर्ने महाप्रबन्धक दाहालको भनाइ छ ।

विमानस्थलमा सामान्य अवस्थामा विमान अवतरणका लागि १५ सय मिटर भिजिविलिटी आवश्यक पर्छ । तर आइएलएस कार्यान्वयन हुने हो भने आठ सय मिटरसम्मको भिजिविलिटीमा विमान अवतरण गराउन सकिने दाहालको भनाइ छ ।

सम्बन्धित् समाचार