मनोज पौडेल, लुम्बिनी ।
अंग्रेजी नयाँ वर्षको पहिलो दिन आइतबार बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउनेको चहलपहल बढेको छ । मायादेवी मन्दिरमा बिहानैदेखि सर्वसाधारणको भीड लागेको छ । मायादवी मन्दिर दर्शन र पूजाआजा गर्नेको लामो लाइन थियो ।
सन् २०२३ को पहिलो दिन आइतबार ८ हजारभन्दा बढी स्वदेशी, विदेशी पर्यटकले लुम्बिनी अवलोकन गरेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए ।
पूर्वी क्षेत्रको थेरवादी सम्प्रदायका विहार र मन्दिर दर्शन गर्ने चहलपहल थियो । त्यस्तै पश्चिमी क्षेत्रको महायानी सम्प्रदायका विहार, गुम्बा र मन्दिर पनि उस्तै भीड थियो । केन्द्रीय नहरमा डुंगा चढेर रमाउने पनि उत्तिकै थिए ।
यहाँ घुम्न आउनेहरु उत्साहित र उमंगित हुँदै लुम्बिनीमा नयाँ वर्षमा खुसीयाली साटासाट गरे । तस्बिर खिच्ने र सेल्फी लिएर रमाए । नयाँ वर्ष उल्लास, उमंग र शान्तिपूर्ण होस् भनेर शनिबार राति रोयल थाई मोनाष्ट्रीले मायादेवी मन्दिरमा विशेष पूजाआजा गरेको थियो ।
मोनाष्ट्रीभित्र पनि परित्रान पाठ गरेर नयाँ वर्षले थाई–नेपाल सम्बन्ध अझ बलियो र प्रगाढ होस् भन्ने कामना गरेको प्रमुख भिक्षु फ्रा बोधी बिड्ले बताए ।








