बाँकेमा तीन युवामाथि खुकुरी प्रहार गरेको अभियोगमा चार युवा पक्राउ परेका छन्।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का २९ वर्षीय विनय भण्डारी, वडा नं. ६ का ३१ वर्षीय तासे भनिने प्रकाश थापा, राप्ती सोनारी–२ का ३१ वर्षीय नारायण डाँगी र बैजनाथ–५ का २९ वर्षीय प्रकाश रसाइली भनिने तुलसीराम सुनारलाई प्रहरीले सोमबार पक्राउपछि सार्वजनिक गरेको छ।
भारतीय नम्बर प्लेटको यूपी ३२ इयू ८६१६ नम्बरको कारमा गएका चार जनाले आइतबार दिउँसो सवा २ बजेतिर नेपालगंज–४ गणेशपुरमा नेपालगञ्ज १२ का २७ बर्षीय अनुराग शाह, नेपालगंज– ४ का सुभमजंग शाह र जानकी गाउँपालिका–३ का उज्वल शाहलाई खुकुरी प्रहार गरी गम्भीर घाइते तुल्याएका थिए। घाइतेमध्ये अनुराग र सुभमको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए।
उनीहरू दुबै जनालाई बाँकेमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको लखनउमा लगेर उपचार जारी रहेको राठौरले जानकारी दिए। उज्वलको भने बाँकेमै उपचार जारी छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले घटनालगत्तै प्रहरी घटनास्थल पुगेर घाइतेलाई उद्धार गरी अस्पताल पुर्याएको जानकारी दिए।
तीन जना युवालाई खुकुरी प्रहार गरी फरार भएकाहरूलाई खोजी गर्ने क्रममा डुडुवा गाउँपालिका वडा नं. २ दासपुरुवा भन्ने स्थानबाट आइतबार बेलुकीपख नै नियन्त्रणमा लिइएको थियो।








