रूपन्देही ।
कोरोना महामारीका कारण दुई वर्ष सुनसानजस्तै बनेको बुद्धजन्मस्थल लुम्बिनीमा सन् २०२२ मा ९ लाख आन्तरिक तथा बाह्य पर्यटक पुगेका छन् । तर, यसरी आएका अधिकांश पर्यटकहरू उही दिनमै फर्किएका कारण व्यवसायमा भने अपेक्षित सुधार हुन नसकेको पर्यटन व्यवसायी सुनाउँछन् ।
कोरोना महामारीको संक्रमण कम हुँदै गएपछि खुल्ला गरिएकाले बिस्तारै पर्यटकहरू बढदै गएका छन् । सन् २०२१ मा कुल ५ लाख ८ हजार ८ सय ९२ पर्यटक आएकोमा २०२२ मा ९ लाख १ सय ८३ जनाले अवलोकन गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।
यो संख्यामा धेरै आन्तरिक नै छन् । यो वर्ष ६ लाख ४६ हजार ७८ नेपाली पर्यटक लुम्बिनी आउँदा छिमेकी मुलुक भारतबाट २ लाख ३० हजार ४ सय १३ जना तथा तेश्रो मुलुकबाट २३ हजार ६ सय ९२ पर्यटक लुम्बिनी आएका छन् । लुम्बिनी विकास कोष सूचना अधिकारी राजन बस्नेतका अनुसार भारतीय पर्यटक लुम्बिनी आएको यो निकै धेरै हो ।
२०२१ मा ४ लाख ६३ हजार ९ सय ६३ जना आन्तरिक पर्यटक पुग्दा ४३ हजार ७ सय ३२ जना भारतीय पर्यटक पुगेका थिए भने तेस्रो मुलुकका १ हजार १ सय ९७ जना मात्रै पर्यटक लुम्बिनी पुगेका थिए । यो समय कोरोना महामारी कम गर्न गरिएको तेस्रो मुलुकबाट रोकिएका कारण पनि तेस्रो मुलुकका आएका थिएनन् । नेपालमै बसेकाहरू मात्रै लुम्बिनी पुगेका थिए त्यो समयमा ।
लुम्बिनी अहिले आन्तरिक पर्यटकको केन्द्र बनिरहेको छ । पूर्वदेखि पश्चिमसम्मबाट आन्तरिक पर्यटकले यो क्षेत्रलाई गन्तव्य बनाउन थालेका छन् । हिउँदको समय अहिले यहाँ धेरै घुम्ने मौसम पनि हो । सबैभन्दा बढी डिसेम्बर महिना (मंसिर १५देखि पुस १६ सम्म) १ लाख १ सय ९६) जना नेपाली पर्यटक लुम्बिनी भ्रमणका लागि पुगेकाले पनि यो घुम्ने समय भनेर प्रमाणित हुन्छ ।
सन् २०१९ पछि सबैभन्दा बढी पर्यटक लुम्बिनी पुगेका हुन् । २०१९ मा ११ लाख ७८ हजार १ सय ४० नेपाली, २ लाख ६ हजार १ सय ७१ भारतीय र १ लाख ७४ हजार १५ तेश्रो मुलुकका गरी कुल १५ लाख ५८ हजार ३ सय २६ पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।








