सागर वि.क., वैखरी अनलाईन ।
नवयुग शिक्षक पेसागत सहकारी संस्था लिमिटेडको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल चारनम्बरमा सम्पन्न भएको हो । नेपाल शिक्षक संघका संघीय अध्यक्ष राजेन्द्र राज पौडेलले शिक्षकको पेसागत क्षमता अभिवृद्धि गर्दै आर्थिक, सामाजिक आदि क्षेत्रमा अब्बल बनाउन यस सहकारीले मागदर्शनको काम गर्ने बताए ।

अध्यक्ष पौडेलले यस सहकारीमा सम्पुर्ण शिक्षहरुलाई आबद्ध गर्न अभियानका रुपमा लाग्नुपर्ने आवश्यकता औल्याए । सरकारले शिक्षकलाई राहत महसुस हुने गरि ऐन नियमहरु ल्याउनुपर्ने बताउँदै उनले शिक्षा क्षेत्रलाई नमुना बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले शिक्षकहरुको हक अधिकार प्राप्तिका लागी यस सहकारीले अहम भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । शिक्षकहरुको अवस्थालाई मजबुद बनाउन अनेक किसिमका प्रभावकारी कार्यक्रम लिएर अघि बढ्न उनले सुझाव दिए । उनले संस्थागत तथा व्यक्तिगत रुपमा गर्नुपर्ने सहयोग गर्दै जाने प्रतिवद्धता जनाए ।

नवयुग शिक्षक पेसागत सहकारी संस्था लिमिटेडका अध्यक्ष गोविन्द पोख्रेलले शिक्षकहरु एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले शिक्षक विधार्थीको भविष्य निर्माणकर्ता भएकाले शिक्षक आफै एक सक्षम शिक्षकका रुपमा स्थापित हुनुपर्ने बताए । यसरी शिक्षकलाई सक्षम र समृद्ध बनाउन यस सहकारीले भूमिका निर्वाह गर्ने उनको दाबी छ । उनले यस सहकारीमा सबै शिक्षकहरुलाई आबद्ध हुन आह्वान समेत गरे ।
सचिव भरतराज न्यौपानेको संचालनमा सम्पन्न उक्त कार्यक्रममा सहकारीका शेयर सदस्य र सहकारीले आयोजना गरेको निबन्ध प्रतियोगिताका विजेताहरुलाई सम्मान गरिएको थियो ।








