गृहपृष्ठ Featured गुल्मीमा सुन्तला उत्पादन बढ्यो

गुल्मीमा सुन्तला उत्पादन बढ्यो

प्रकाशित मिति:

गुल्मी ।

धुर्कोट गाउँपालिका– १ नयाँगाउँका ५७ वर्षीय दलबहादुर खत्रीको मुख्य आम्दानीको स्रोत सुन्तला हो। ०५७ सालमा मलेसियाबाट फर्किएर गाउँमा बारी र सुन्तलाका बोट थपेका उनीसँग अहिले सुन्तला फल्ने दुई सय ५० वटा बोट छन्। उनीसँग सुन्तलाको नर्सरी पनि छ। कलमी तीन हजार पाँच सय र बिज बिरुवा १५ हजार छन्। सुन्तलाबाट वार्षिक दुई लाखभन्दा बढी र बिरुवाबाट दोब्बर कमाइ हुने गरेको दलबहादुरले बताए। उनले सुन्तलाकै कमाइबाट परिवारको जीविकोपार्जनसहित छोरालाई बिएस्सी–एजी पढाइरहेका छन्।

सोही गाउँका पीताम्बर कोइराला पनि सुन्तला र बिरुवाको व्यावसायिक कृषक हुन्। वर्षको दुई लाख मूल्यबराबरको सुन्तला र साढे चार लाखभन्दा बढीका बिरुवा बिक्री गर्छन् गर्ने उनले सुन्तला उत्पादन गर्न थालेको करिब २० वर्ष भयो। गत वर्षको तुलनामा यो वर्ष दोब्बर सुन्तला फलेको कोइरालाले बताए। मल, जल र कटिङसहितको राम्रो हेरचाह भए वर्षौँ कमाइ गर्न सकिने भएकाले सुन्तला आम्दानीको गतिलो स्रोत भएको उनको भनाइ छ।

टीकाबहादुर हमाल धुर्कोट गाउँपालिकाकै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने व्यावसायिक कृषक हुन्। ५३ वर्षीय हमालले ३१ वर्षदेखि सुन्तला खेती गर्दै आएका छन्। उनले कुल १२ रोपनी जग्गामा सुन्तला खेती गरेका छन्। सुन्तला र कागतीका ४० हजार बिरुवा नर्सरीमा छन् । अहिले सुन्तला टिप्ने वेला भएकाले हमाल निकै व्यस्त छन्। सुन्तला र बिरुवाबाट हमालले वर्षमा सातदेखि आठ लाख आम्दानी गर्छन् । अहिले प्रतिकिलो ५० देखि ६० रुपैयाँमा सुन्तला बिक्री भइरहेको छ। नयाँगाउँका धेरै कृषकले ठेक्कामा बगैँचा नै बिक्री गर्ने गरेका छन्।

 

सम्बन्धित् समाचार