काठमाडौं ।
टिकटक लाइभमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१७ बस्दै आएका २१ वर्षीय ऋषि प्रकाश योगी, भक्तपुर सुर्यविनायक नगरपालिका–१० का २७ वर्षीय कपिल गिरी, भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ का २१ वर्षीय प्रेम कठायत र मध्यपुर ठिमी नगरपालिका–१ बस्दै आएका कैलालीका २० वर्षीय डिल्लीराज अवस्थी छन् ।
प्रहरीका अनुसार पक्राउ परेका ऋषि प्रकाश योगीले वालेटमा विभिन्न व्यक्तिहरूलाई रकम जम्मा गर्न लगाई एक महिना १० दिनको अवधिमा २८ लाख ७३ हजार ३५४ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ ।
यसैगरी, कपिल गिरीले वालेटमा विभिन्न व्यक्तिहरूलाई रकम जम्मा गर्न लगाई जम्मा १० दिनको अवधिमा १० लाख ५२ हजार ९६२ रुपैयाँ बराबरको रकम कारोबार गरेको देखिएको प्रहरीको भनाइ छ ।
प्रेम कठायत र डिल्लीराज अवस्थीले एक महिना ६ दिनको अवधिमा ९३ हजार २१४ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ ।








