संयूक्त राज्य अमेरिकाका नर्थ क्यारोलाइना र विस्कन्स राज्यले सुरक्षा जोखिम देखाउँदै सरकारी उपकरणहरूमा टिकटक एपको प्रयोगमा प्रतिबन्ध लगाएपछि चिनियाँ टेक फर्म बाइटडान्स स्वामित्वको यो चर्चित एप समस्यामा परेको छ ।
अहिलेसम्म २५ भन्दा बढी अमेरिकी राज्यहरूले सरकारी डिभाइसहरूमा एपको प्रयोगमा कुनै न कुनै किसिमका प्रतिबन्ध लगाइसकेका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्षको अन्त्यतिर नै संघीय सरकारका झण्डै ४० लाख कर्मचारीलाई सरकारी स्वामित्वका उपकरणहरूमा अपवाद (सुरक्षा निकाय र अनुसन्धान प्रयोजन) बाहेक टिकटक प्रयोगमा औपचारिक रूपमै प्रतिबन्ध लगाइसकेका छन् ।
कुल ४ हजार १ सय २६ पृष्ठ लामो सरकारी खर्चसम्बन्धी ऐनको एक भागका रूपमा आएको यो प्रतिबन्धपछि अमेरिकाका विभिन्न राज्यहरूले राष्ट्रपतिको कदमलाई पछ्याउन सुरू गरेका छन् ।








