थाइल्यान्डको बैंककमा सञ्चालन भइरहेको यू–२२ बक्सिङ च्याम्पियनसिपमा नेपालका इन्द्रबहादुर सुनार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपअन्तर्गत ५७ केजी तौल समूहमा सुनारले प्रिक्वार्टरफाइनलमा लाओसका खेलाडी सोक्साखुनलाई ५–० को अन्तरमा हराए । सुनारले क्वार्टरफाइनलमा मंगोलियन खेलाडी गन्तुमार लुन्डाविरुद्ध खेल्नेछन् ।
नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । दुवै खेलाडीले क्वार्टरफाइनलमा बाई पाएका थिए । विजयले मोसकिता माइकलसँग भिड्नेछन् ।
त्रिशाले काजकिस्तानी मुक्केबाज एरजन गुल्सायसँग खेल्नेछन् ।
प्रतियोगितामा बिहीबार महिला ४८ केजी तौल समूहकी सुष्मा तामाङले भियतनामकी क्युनहानविरुद्ध खेल्नेछिन् । महिला ५७ केजी तौल समूहकी हेमा राईले सिंगापुरकी चौउजिमिन बेर्नेससँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछिन् ।
पुरुषतर्फ ४८ केजी तौल समूहका खेलाडी लालप्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसँग अन्तिम आठमा खेल्ने नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालले जानकारी दिएका छन् ।








