गृहपृष्ठ Featured रुपन्देहीमा टाइमकार्ड लागू

रुपन्देहीमा टाइमकार्ड लागू

रुपन्देही ।

सेवाग्राहीलाई दिइने सेवा प्रवाहलाई सहज, सरल, छिटोछरितो र झन्झटिलोरहित बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले बिहीबारदेखि टाइमकार्ड लागू गरेको छ । प्रशासनले बिहानी समयमा सेवा लिन आउने सेवाग्राहीलाई रातो र दिउँसोको समयमा आउनेलाई पहेँलो टाइमकार्ड उपलब्ध गराएर सेवा दिने गरी चाँजोपाँजो मिलाएको हो ।

प्रशासनले नयाा नागरिकता, नागरिकताको प्रतिलिपी, राष्ट्रिय परिचयपत्र र ई-पासपोर्ट वितरणमा सहजता ल्याउन टाइमकार्ड लागू गरेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले जानकारी दिए । ‘प्रमाण पुर्‍याएर आउने सेवाग्राही अब लाइनमा बसिरहनुपर्दैन, फाइल बोकेर प्रत्येक शाखा–शाखा धाइरहनु पनि पर्दैन,’ पाण्डेले भने, ‘सबै सेवालाई एकद्वार प्रणालीमा ल्याउन र नागरिकलाई छिटोछरितो सेवा दिन टाइमकार्ड लागू गरेका हौं ।’

सेवाग्राहीले रीतपूर्वक आफ्नो प्रमाणको कागजातसहित निवेदन पेस गरेपछि नागरिकता, राष्ट्रिय परिचयपत्र, ई-पासपोर्ट लिन प्रशासनमै कुरेर बस्नुपर्नेछैन । निवेदन दिएपछि टाइमकार्डमै यति समयपछि आउनू भनेर प्रशासनले समय तोकिदिनेछ । त्यसपछि तोकिएको समयमा आएर सेवाग्राहीले आफ्नो नागरिकता वा अन्य कागजात लिएर जान सक्नेछन् । ‘फाइल पेस गरेर टाइमकार्ड पाएपछि सेवाग्राही यही बस्न पनि सक्नुहुनेछ, अन्यत्र आफ्नो काम भए त्यो काम सकेर तोकिएको समयमा आउन पनि सक्नुहुनेछ,’ पाण्डेले भने, ‘यसले सेवामा सहजता ल्याउँछ नै सेवाग्राहीको समयको बचत पनि हुन्छ ।’

सम्बन्धित् समाचार