गृहपृष्ठ Featured लुम्बिनी अस्पतालमा फोहोर निर्मलीकरणका लागि मेसिन जडान

लुम्बिनी अस्पतालमा फोहोर निर्मलीकरणका लागि मेसिन जडान

बुटवल ।

अस्पतालको फोहोर कहाँ व्यवस्थापन गर्ने ? धेरै अस्पतालको टाउको दुखाइ बनेको छ । अस्पतालजन्य फोहोरको सही व्यवस्थापन नहुँदा फोहोर र प्रदूषणमात्र होइन संक्रमणजन्य रोगहरूसमेत फैलिरहेका छन् । फोहोर निर्मलीकरण विधि अपनाएपछि  बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भने यो समस्या समाधान भएको छ ।

दैनिक झन्डै एक हजार २ सय बिरामी उपचारका लागि आउने लुम्बिनी प्रादेशिक अस्पतलबाट दैनिक ६ सय केजी फोहोर संकलन हुन्छ । त्यसमध्ये २५ प्रतिशत फोहोर संक्रमणयुक्त हुन्छ; त्यसमा सुई, सिरिन्ज, उपकरण, बिरामीको खकार, रगतलगायत पर्दछन् । अस्पतालले त्यही फोहोरलाई निर्मलीकरण गर्ने गरेको हो । अस्पतालकी हाउस किपिङ अधिकृत गीता ज्ञवालीका अनुसार अस्पतालजन्य फोहोरलाई १ सय २१ डिग्री सेन्टिग्रेड तापक्रममा आधा घण्टा मसिनमा राखिन्छ । यसबाट फोहोरमा भएका सबै किसिमका किटाणुहरू मर्ने गर्छन् ।

किटाणु मरेपछि संक्रमण नहुने भएकाले उक्त फोहोरलाई उपमहानगरले व्यवस्थापन गर्ने अन्य फोहोरसरह व्यवस्थापन गरिन्छ । ‘फोहोर व्यवस्थापनमा निर्मलीकरण विधि अपनाएको अस्पतालले फोहोर संकलनदेखि नै सावधानी अपनाउने गरेको छ,’ अस्पतालकी हाउसकिपिङ अधिकृत ज्ञवालीले भनिन्, ‘जसअनुसार रगतजन्य तथा संक्रमीत फोहोर रातो बाल्टीमा हरियोमा कुहिने र निलोमा प्लास्टिकजन्य, कागज एवं नकुहिने फोहोर जम्मा गरिन्छ । फोहोरको प्रकृति हेरेर निर्मलीकरण गरिन्छ ।’

सम्बन्धित् समाचार