गृहपृष्ठ Featured दाङमा ठेकेदारले पूरा नगरेपछि युवा जुटे सडक बनाउन

दाङमा ठेकेदारले पूरा नगरेपछि युवा जुटे सडक बनाउन

दाङ ।

तुलसीपुर, घोराही  हुँदै लमही सडकखण्डमा यात्रा गर्ने यात्रुले निकै सास्ती भोग्दै आएका छन्। तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराही हुँदै लमही सडकखण्ड अन्तर्गत  कुइरेपानीसम्म स्तरोन्नति गर्ने भन्दै ठेकेदारले सडक अलपत्र पारेपछि यात्रु निकै कष्टकर यात्रा गर्न बाध्य छन्।

कुइरेपानीदेखि तुलसीपुरसम्म  २८.१९ किलोमिटर सडक कतै चार लेन र कतै दुई लेनमा स्तरोन्नति  गर्न भन्दै  सन् २०१९ जनवरी २८ मा शुरुमा सम्झौता भएको थियो।  तीनपटक म्याद थप गर्दा पनि अहिलेसम्म सडक स्तरोन्नतिको कामको भौतिक प्रगति ९ प्रतिशत मात्रै छ।

यहाँको चार लेन सडक निर्माणको जिम्मा भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिले लिएको हो। सुरुमा ३३ महिनामा काम सक्नेगरी परियोजनासँग निर्माण सम्झौता भएको हो। तत्कालीन दुई लेनको सडक भत्काएर भताभुंग पार्दा  धेरै सवारी दुर्घटना हुँदा २० भन्दा बढीले ज्यान गुमाएका छन्। आधा घण्टा लाग्ने यात्रामा घण्टौँ र जोखिम  छ।

लामो समयदेखि सडकको अवस्था नाजुक भएपछि  तुलसीपुरमा क्रियाशील युवा व्यवसायीले  तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रको सडक मर्मत शुरु गरेका छन्। उपमहानगरसँग समन्वयमा आफ्नै लगानीमा सडक किनारा एवं बिचमा रहेका खाडल बिहीबारदेखि  पुर्न थालेका हुन्। तुलसीपुर–घोराही खाडल मर्मत अभियान नाम दिएर क्रियाशील युवा व्यवसायीले उपमहानगरका इञ्जिनियर पवनकुमार योगीको नेतृत्वमा यो अभियान थालेका हुन्।

सम्बन्धित् समाचार