गृहपृष्ठ Featured अर्घाखाँची महोत्सव सुरु

अर्घाखाँची महोत्सव सुरु

सन्धिखर्क ।

अर्घाखाँचीको सन्धिखर्कमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले आजदेखि माघ २४ सम्म अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला सुरु भएको छ।

अर्घाखाँचीलाई  व्यावसायिक पर्यटकीय हिसाबले देश विदेशमा चिनाउन, जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित वस्तुहरुको प्रर्बद्धन गर्न महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले बताए। १४ दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र पाँच करोडको कारोवार हुने अपेक्षा रहेको अध्यक्ष मिश्रको भनाइ छ।

महोत्सवको पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधि सभाका सदस्य टोपबहादुर रायमाझीले उद्धाटन गरेका छन्। अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सले ‘पाँचौं अर्घाखाँची महोत्सव-२०७९’ आयोजना गरेका हुन्।

सन्धिखर्कको कुँडुले फाँटमा  कृषि, पर्यटन, उद्योग र व्यपार समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार भन्ने नाराका साथ महोत्सव सञ्चालन भएको महोत्सवमा जिल्लामा भएका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्न तथा स्थानीय स्तरमा उत्पादन हुने सुन्तला, कफी तथा अन्य उत्पादित वस्तुको प्रचार गरी पर्यटक भित्राउन तथा जिल्लालाई चिनाउन भूमिका खेल्ने चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठले बताए।

उद्धाटन सत्रमा विभिन्न समुदायले जातजाती र भेषभुषा झल्कने झाकीसहितको प्रदर्शन गरेका थिए। स्थानीय नेवारी समुदायको मौलिक नाच भैरव नाच, सोरोठी नाच, मारुनी नाच, अर्घाका पञ्चेबाजा प्रदर्शन गरिएको थियो।

उत्पादित वस्तुहरुको प्रवर्द्धन, गर्न र  पर्यटकीय क्षेत्रको प्रचार गर्न महोत्सवले भूमिका खेल्ने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको भनाइ छ।

मेलामा झण्डै चार सय स्टल छन् । २०६६ सालदेखि दुई/दुई वर्षमा महोत्सव हुँदै आएको थियो। कोभिडका कारण विगत दुई वर्ष यता महोत्सव सञ्चालन हुन सकेको थिएन।

सम्बन्धित् समाचार