गृहपृष्ठ Featured दाङको टरिगाउँमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने

दाङको टरिगाउँमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने

तुलसीपुर ।

दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ । त्यसका लागि सीता एयरले आज परीक्षण उडान गर्दैछ ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीकाअनुसार दिउँसो १ बजे सीता एयरको विमानले परीक्षण उडान भर्ने तय भएको छ ।  “निजी विमान कम्पनीले उडान सुरु गरेपछि भाडा सस्तो हुने हाम्रो अपेक्षा छ”, उनले भनिन् । लामो समयको प्रयासमा निजी विमान कम्पनी उडान भर्न तयार भएको हो । धावनमार्ग विस्तार गरी ठूला जहाजले उडान भर्न मिल्ने बनाउन लागिएको चौधरीको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाले चौधरीको नेतृत्वमा समिति बनाएर विमानस्थल विस्तारका लागि काम अघि बढाएको छ । हाल नेपाल वायु सेवा निगमले विमानले हप्तामा चार दिन तुलसीपुरमा उडान भर्दैआएको छ । आइबार, मंगलबार, बिहीबार र शनिबार उडान हुने गरेको छ ।

टरिगाउँमा इन्धन डिपो पनि सञ्चालनमा आएको छ । हाल दाङबाट काठमाडौँको न्यूनतम भाडा आठ हजार ८१० तथा काठमाडौँबाट दाङको भाडा न्यूनतम नौ हजार र अधिकतम १२ हजार रहेको छ । हाल कायम रहेको ७५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्ने योजना छ । -रासस

सम्बन्धित् समाचार