गृहपृष्ठ Featured कपिलवस्तु हाट बजार व्यवसायी समितिको १८ औं बार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तु हाट बजार व्यवसायी समितिको १८ औं बार्षिक साधारण सभा सम्पन्न

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तु हाट बजार व्यवसायी समितिको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम शुक्रबार बाणगंगा १ बैरियामा रहेको समितिको आफ्नै सभाहलको प्राङ्गणमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बाणगंगामा संचालनमा रहेका हाट बजारलाई थप व्यवस्थित गर्दै लैजानुपर्नेमा जोड दिए । ‘पहिले हाट बजार भद्रगोल अवस्थामा रहेका थिए,’ उनले भने, ‘विगतमा भन्दा अहिले सुधार भएको छ, तर अझै व्यवस्थित गर्दै लैजानु पर्छ ।’

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष घिमिरेले कोरोनाको महामारीपछि हाट बजार व्यवसायी पनि निकै मारमा परेको र त्यस्ता व्यवसायीको पुनरुत्थानका लागी आफु प्रतिवद्ध रहेको बताए ।

ऋणी व्यवसायीहरुलाई बैंक तथा वित्तिय संस्थाले आतंकित बनाएको बताउँदै उनले त्यसको विरोध निरन्तर रुपमा गरिरहेको उनले स्मरण गरे । व्यवसायीहरुको हकहितको लागी आफु विगतदेखि प्रतिवद्ध रहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने अध्यक्ष घिमिरेले प्रतिवद्धता जनाए ।

समितिका अध्यक्ष पवित्रा सोमैले हाट बजार व्यवस्थित बनाउने विषयमा आफु गम्भिर भएर लागेको जिकीर गरिन् । उनले हाज बजारमा खानेपानी, शैचालय, सरसफाई लगायतको उचित व्यवस्थापन समितिको प्राथमिकतामा रहेको बताईन् । व्यवसायीका पिर मर्कालाई समाधान गर्दै व्यवसायीक वातावरण बनाउन आफु लागी पर्ने अध्यक्ष सोमैले प्रतिवद्धता जनाएकी छिन् ।

कार्यक्रममा कपिलवस्तु हाट बजार व्यवसायी समितिका संस्थापक अध्यक्ष मुक्तिराम कँडेल, निवर्तमान अध्यक्ष ज्ञान बहादुर थापा लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा वृद्ध तथा शारिरीक रुपमा अशक्त हाट बजार व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो ।

समितिका सचिव यादव प्रसाद घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा हाट बजार व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार