काठमाडौँ ।
रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीलाई भेट्न लामिछाने बिहान बालुवाटार गएका हुन् ।
उक्त भेटमा प्रधानमन्त्री दाहालले लामिछानेलाई पार्टीबाट गृहमन्त्री बनाउने विषयमा के–कति प्रगति भइरहेको छ भनेर जिज्ञासा राखेका थिए । लामिछानेको मुद्दा किनारा लागिनसकेको र सर्वाेच्च अदालतले उनको नागरिकतालाई लिएर प्रतिनिधिसभा सदस्य खारेज हुने भनेर गरेको फैसलाकाे पूर्णपाठ नआउँदासम्म गृहमन्त्री बनाउने सम्भावना नरहेको भनेर प्रधानमन्त्री दाहालले बताएको बालुवाटार स्रोतले जानकारी दियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल अप्ठ्यारोमा परेका छन् । सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि रिक्त रहेको गृह मन्त्रालय दाहाल आफैंले राख्न खोजेका छन् ।
पार्टीभित्रबाट पनि माओवादीले नै गृह राख्नुपर्ने दबाब दाहालमाथि छ तर रास्वपाको दाबीका कारण दाहाल निर्णयमा पुग्न सकेका छैनन् । प्रधानमन्त्री दाहालले भने गृह आफैंले राखेर अरू मन्त्रालय दिन सकिने संकेत लामिछानेलाई दिएका छन् ।








