खराब मौसमको कारण देखाउँदै भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा ५६ दिनदेखि अन्तर्राष्ट्रिय उडान ठप्प छ । ३१ अर्ब रुपैयाँ खर्चिएर निर्माण गरिएका राष्ट्रिय गौरवको आयोजनामा ३ पुसदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
विमानस्थल उद्घाटनकै दिनदेखि नियमित उडान गर्दै आइरहेको कुवेतको जजिरा एयरवेजले खराब मौसमका कारण भैरहवा उडान स्थगित गरेको छ । यस्तै, भैरहवा–मलेसियामा चार्टर्ड उडान गरिरहेको हिमालय एयरलाइन्सले पनि उडान रोकेको छ । ‘अहिले पनि मौसम खुलेको समयमा फाट्टफुट्ट चार्टर्ड उडान भइरहेका छन्, तर नियमित उडान ठप्प नै छ,’ जिबिआइएका प्रवक्ता सुवास झाले भने, ‘अहिले बाक्लो हुस्सु लागेर उडान रोकिएको हो, मौसम खुल्नेबित्तिकै उडान सुरु गर्ने जजिराले बताएको छ ।’
खराब मौसम तथा रातको समयमा पनि जहाज अवतरण गराउन सकिने अत्याधुनिक प्रणाली इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) उपकरण विमानस्थलको धावनमार्गमा जडान गरिएको छ । तर, भारतले आइएलएस सञ्चालनमा अनुमति नदिँदा हिउँदमा उडान स्थगित गर्नुपरेको हो । आइएलएस सञ्चालनमा ल्याउँदा भारतीय आकाश पनि प्रयोग हुने भन्दै भारतले अनुमति दिन मानेको छैन ।
आइएलएस उपकरणमार्फत आठ सय मिटर भिजिबिलिटीसम्म जहाज अवतरण गराउन सकिन्छ । तर, अहिले न्यूनतम १८ सय मिटर भिजिबिलिटीसम्म इन्स्ट्रुमेन्ट फ्लाइट रुल (आइएफआर) उडान–अवतरण भइरहेको छ ।








