बाँके ।
बाँकेमा महिलाको पाठेघर मुखको क्यान्सरको अवस्था भयावह बन्दै गएको छ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले दुई सय ९४ महिलाको पाठेघर जाँच गर्दा २५ जना महिलाको पाठेघरमा प्रारम्भिक चरणको क्यान्सर देखिएको हो।
निर्धन उत्थानले कोहलपुरमा गरेको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराएका दुई सय ९४ महिलाको प्याप स्मेयर र भिआइए जाँच गर्दा ती महिलामा प्रारम्भिक चरणको क्यान्सर पुष्टि भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. श्याम विकले जानकारी दिए।
संस्थाले स्थापना गरेको समूहमा आबद्ध महिलाको स्वास्थ्य अवस्था बुझ्न आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराएका महिलामा प्रेसर, सुगर, थाइराइडजस्ता समस्या देखिएको उनले बताए।
‘सामान्य स्वास्थ्य समस्या देखिएका महिलाको संख्या धेरै भए पनि पाठेघरमा प्रारम्भिक चरणको क्यान्सर देखिएका महिलाको संख्या पनि उत्तिकै छ,’ उनले भने।
संस्थामा आबद्ध महिलाको स्वास्थ्य अवस्था बुझ्न शिविर सञ्चालन गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले बताए। स्वस्थ जीवनले मात्र उद्यम सम्भव हुने भएकोले संस्थाको समूहमा आबद्ध उद्यमी महिलाको स्वास्थ्य परीक्षण गरिएको बताए।








