तौलिहवा ।
सडक बत्ती व्यवस्थापनमा पालिकाहरु उदासिन देखिएपछि नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले सडक बत्तीको लाइन काटने तयारी गरेको छ। स्विच नराखी २४ घन्टा नै बत्ती बालिएकोले प्राधिकरणलाई दैनिक लाखौँ रुपैयाँ नोक्सानी भएको भन्दै प्राधिकरणले आफ्नो क्षेत्रमा पर्ने कपिलवस्तुका ५ पालिकाको सडक बत्तीको लाईन काटने तयारी गरेको हो।
कपिलवस्तु, बाणगंगा, बुद्धभूमि नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकाको सडक बत्ती काट्ने तयारी गरिएको प्राधिकरणका प्रमुख राजेश कुमार झाले बताए।
प्राधिकरणको लुम्बिनी प्रदेश प्रादेशिक कार्यालयले गत फागुन २ गते प्राधिकरणलाई स्विच बीना राखिएको सडक बत्ती झिक्न निर्देशन दिएको थियो। तर अनुगमनको क्रममा त्यसको पालना नभएको पाइए पछि प्रादेशिक कार्यालयले ७ दिन भित्र सडक बत्ती व्यवस्थापन गर्न निर्देशन दिएको प्राधिकरण प्रमुख झाले बताए।
नेपाल विद्युत प्राधिकरणले सडक बत्ती व्यवस्थापन गर्न विभिन्न नीतिहरु लिएको छ। बीना मिटर जडान गरिएको सडक बत्ती हटाउने र मिटन जडान गरी स्विचसहितको बत्ती बाल्ने प्रावधान बनाइएको छ। तर सम्बन्धित पालिकाले दिनु पर्ने र मिटर प्राधिकरणले निःशुल्क दिने व्यवस्था गरिएको झाले बताए।
पटक पटक अनुगन गरी पत्राचार गर्दा समेत सडक बत्तीको व्यवस्थापन नगरिएकाले अब आफूहरुले सडक बत्तीको लाइन काटने तयारी गरेको बताए।








