गृहपृष्ठ Featured लुम्बिनी प्रदेशसभा बैठक एकछिन बसेर पुनः स्थगित

लुम्बिनी प्रदेशसभा बैठक एकछिन बसेर पुनः स्थगित

रुपन्देही ।

करिब १ महिनापछि बुधबारका लागि बोलाइएको लुम्बिनी प्रदेशसभाको छैटौं बैठक एकछिन बसेर पुनः स्थगित भएको छ ।

दिउँसो १ बजे बसेको बैठकमा सभामुख तुलाराम घर्तीले प्रदेश सरकार विस्तारको प्रदेश प्रमुख कार्यालयको पत्रबारे जानकारी, महान्यायाधिवक्ताको प्रतिवेदन प्रस्तुत, स्वास्थ्य ऐन संशोधन तथा केही सांसदहरुलाई विशेष समयमा बोल्न दिएर पुनः अनिश्चितकालका लागि स्थगित गरेका छन् ।

अहिलेको लुम्बिनी प्रदेश सरकार तीनपटक विस्तार गरिएको थियो । पुस २८ गते तीन सदस्यीय, माघ २८ मा थप ७ जना मन्त्री र फागुन ७ गते एक जना नयाँ मन्त्री नियुक्त भएका थिए । अहिले दश मन्त्रालय र ११ मन्त्री छन् । एकजना मन्त्रीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी जिम्मेवारी दिइएको विषय सभामुख घर्तीले सभालाई जानकारी गराएका थिए ।

बैठकमा मुख्यमन्त्री लीला गिरीको तर्फबाट स्वास्थ्यमन्त्री विष्णु पन्थीले मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गरेका थिए । स्वास्थ्यमन्त्री पन्थीले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी अध्यादेशसमेत सभामा पेश गरेका छन् ।

बुधबारको बैठकमा १३ जना सांसदले विशेष समय लिएर सम्बोधन गरेका थिए । धेरै सांसदहरुले आफ्नो अनुभवसँगै संसदमा सरकारको प्रभावकारी काम र जनजीवनका सवाल उठाएका छन् ।

सम्बन्धित् समाचार