तिलोत्तमा ।
रुपन्देहीको ओमसतिया गाउँपालिका ५ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिक आयोजना सुरु भएको छ । ओमसतिया ५ का स्थानीयलाई रोजगारी दिने उद्देश्यसहित बिहीबारबाट सो आयोजनाको सुरुआत गरिएको हो ।
सो आयोजनाको उद्घाटन गर्दै ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जितकुमार यादवले इमानदार भएर काम गर्न निर्देशन दिए । बेरोजगार अवस्थामा रहेका विपन्न नागरिकलाई रोजगारी दिने उद्देश्यसहित ल्याइएको सो योजनाको सदुपयोग गर्न उनले आग्रह गरे ।
आर्थिक वर्ष २०७८/०७९ मा रोजगारीका लागि सूचीकृत भएका स्थानीयलाई रोजगारी दिने उद्देश्यसहित योजना सुरु गरिएको रोजगार संयोजक अमृता पाण्डेले बताइन् । उनका अनुसार ६३ जना सूचीकृत भएको मध्ये वडा नम्बर ५ मा २५ जनालाई न्यूनतम एक सय दिनको रोजगारी दिइएको हो ।








