बुटवल ।
स्ववियु निर्वाचन नजिकिदै गर्दा विवाद सुरु भएको छ । रुपन्देहीका दुई क्याम्पसका निर्वाचन अधिकृतको कार्यालय र क्याम्पसमै ताला लागेको छ ।
बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पस र देवदह आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले ताला लगाएका हुन् ।
बुटवलको सिद्धार्थ क्याम्पसमा आफ्नो संगठनलाई दर्ता गर्न नदिएको भन्दै राष्ट्रिय जनमोर्चाको अखिल (छैठौं) ले निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको हो ।
शुक्रबार दिउँसो तीन बजेसम्म विद्यार्थी संगठनहरुको नाम दर्ता गर्ने समय रहे पनि दुई बजे अगाडि नै नाम दर्ता गर्न जाँदा निर्वाचन अधिकृतको कार्यालयले नाम दर्ता गर्न नमानेपछि तालाबन्दी गरिएको अखिल छैठौंका इकाई अध्यक्ष समिर पोखरेलले बताए ।
क्याम्पसका निर्वाचन अधिकृत गोपालप्रसाद चापागाईंले नियतवंश संगठनको नाम दर्ता नगरेको नभई ढिलो आएकाले दर्ता नभएको बताए । क्याम्पस प्रमुख विष्णु रानाले शनिबार बिहान बैठक बसेर दर्ता गर्ने/नगर्ने निर्णय गरिने बताए ।








