बार्सिलोनाले कोपा डेल रे फुटबलको सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडलाई १–० ले हराएको छ । इडर मिलिटाओले आत्मघाती गोल गरेपछि घरेलु सान्टियागो बेर्नाबाउमै रियल पराजित भएको हो ।
खेलमा बल पोसेसन र आक्रमणमा भने रियल अघि थियो । युरोपा लिगमा म्यानचेस्टर युनाइटेड र ला–लिगामा अल्मेरियासँग पराजित भएको बार्सिलोनालाई यो जितले ठूलो राहत मिलेको छ ।
२६औँ मिनेटमा इडरले आत्मघाती गोल गरेपछि खेलमा अग्रता बनाएको बार्सिलोना अधिकांश समय रक्षात्मक देखिएको थियो । दोस्रो लेग खेल अब ५ अप्रिलमा क्याम्प नोउमा हुनेछ । बार्सिलोनाका मुख्य स्ट्राइकरद्वय रोबर्ट लेवान्डोस्की र उस्माने डेम्बेले घाइते भएका कारण यस खेलमा टिममा थिएनन् ।
बार्सिलोनाका प्रशिक्षक जाभीले आफ्ना खेलाडीहरूको प्रदर्शनबाट खुसी भएको बताए ।
रियलका प्रशिक्षक कार्लो एन्सिलोट्टीले बार्सिलोनाको डिफेन्स चिर्न नसक्दा खेल हार्नुपरेको बताए ।








