सन्धिखर्क ।
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा अर्घाखाँचीका ६ वटा पालिकामध्ये अर्घाखाँचीको सन्धिखर्क नगरपालिका उत्कृष्ट भएको छ।
तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको जिल्लाको सन्धिखर्क नगरपालिकाले ७५.५ अंक प्राप्त गर्दै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको सन्धिखर्क नगरपालिका राजस्व शाखा प्रमुख मुक्तिराम खनालले बताए।
योजना बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापन गरि पाँच वटा शीर्षकमा गरेको मूल्यांकनमा जिल्लाका ६ वटा पालिकामध्ये सन्धिखर्क नगरपालिकाले सबैभन्दा बढी अंक प्राप्त गर्न सफल भएको हो।
दोस्रोमा रहेको छत्रदेव गाउँपालिकाले ७१.५ र तेस्रोमा रहेको शीतगंगा नगरपालिकाले ६५ अंक प्राप्त गरेको छ। भूमिकास्थान नगरपालिकाले ६२, पाणिनि गाउँपालिकाले ५६.५ र मालारानी गाउँपालिकाले ५२.५ अंक प्राप्त गरेका छन्।