गृहपृष्ठ Featured लुम्बिनी प्रदेशका सहकारीमा बेथिति बढ्दो

लुम्बिनी प्रदेशका सहकारीमा बेथिति बढ्दो

बुटवल ।

शिव शिखर सहकारीको बुटवल, जोगीकुटीस्थित कार्यालय अहिले बन्द छ । काठमाडौं मुख्य कार्यालय रहेको यो सहकारीले बुटवलमा सपिङ सेन्टरसमेत सञ्चालन गरेको थियो ।

दैनिक बचतकर्ताहरूलाई रकम फिर्ता गर्न नसकेपछि सूचना टाँसेर उक्त सहकारीको कार्यालय बन्द गरिएको हो । अहिले स्थानीय बचतकर्ताहरु आफ्नो रकम डुब्ने चिन्तामा छन् ।

बुटवलमा रहेका सुप्रिम, आगन्तुक लगायतका सहकारी संस्थाका बचतकर्ताहरू अहिले रकम निकाल्न नपाएको गुनासो गरिरहेका छन् । यस्तै भैरहवामा रहेको अग्रमबग्रहम जडिबुडी सहकारीका अध्यक्ष पनि सम्पर्कविहीन छन् ।

बाँके जिल्लामा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्था संकटमा परेपछि छानबिन गर्दा सञ्चालक समिति र व्यवस्थापकबाट  आर्थिक अपचलन भएको तथ्य प्रकाशमा आएको छ ।

शिव शिखर सहकारीमा बचत गरेकी बुटवल, देवीनगरकी लक्ष्मी श्रेष्ठले आफ्नो १ लाख ३६ हजार रुपैयाँ जोखिममा परेको बताइन् । उनीजस्ता रकम जम्मा गरेर फिर्ता नपाएका बचतकर्ता थुप्रै छन् ।

लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष टीकाराम पोखरेलले प्रदेशमा सञ्चालित केही सहकारीमा समस्या देखिएकाले सरकारले कानुनी प्रक्रिया अगाडि बढाएको बताए । उनले आफूहरूकहाँ सहकारीबाट ठगिएको भन्दै निवेदन आउने क्रम जारी रहेको बताए ।

दाङको लमहीमा रहेको नागरिक बचत तथा ऋण सहकारी, देउखुरीमा रहेको महाप्रमुख बचत तथा ऋण सहकारी संस्थामा समस्या देखिएको उनको भनाइ छ ।

लुम्बिनी प्रदेशका सहकारी रजिस्ट्रार भीमप्रसाद तिवारीले सहकारीमा सुशासन नहुँदा पछिल्ला दिनमा कसैले प्रदेश रजिष्ट्रार कार्यालय, कसैले जिल्ला प्रशासनतिर उजुरी दिन थालेको बताए । उनले आफूकहाँ अहिले करिब एक दर्जन जति उजुरी आएको जानकारी दिए ।

सहकारी  पीडितहरु पनि कहाँ उजुरी गर्ने भन्नेमा अन्यौल छन् । सहकारीका  पीडितहरु कोही प्रहरी, कोही जिल्ला प्रशासन, कोही रजिस्ट्रार कार्यालयमा उजुरी गर्न जाने भएकाले कति सहकारीमा बेथिति छ भन्ने यकिन गर्न कठिन देखिन्छ ।

लुम्बिनीमा ३ हजार ७५५ सहकारीले ४२ अर्ब लगानी, ६० अर्ब निक्षेप र ६ अर्ब सेयर पुँजीको कारोबार गरेको रेकर्ड सहकारी बोर्डमा छ । यो ०७७ सालको तथ्याङ्क हो । त्यस यताको तथ्याङ्क अझै अद्यावधिक भएको छैन ।

लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष पोखरेलले प्रदेशमा दर्ता नभएका तर कार्यक्षेत्र बनाएर सञ्चालनमा आएका केही सहकारीमा समस्या देखिएको बताए ।

सम्बन्धित् समाचार