कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका– ६ बेलसापुर देखि थम्हवा जाने सडक एक बर्ष नपुत्दै भत्किन सुरु गरेको छ। ठेकेदार कम्पनीले निम्न गुणस्तरको काम गरेकोले सो पक्की सडक भत्किएको स्थानीयको आरोप छ। संतोषी निर्माण सेवाले काम गरेको सो सडक ठाउँ ठाउँमा भत्किन सुरु भएको हो।
स्थानीय जुबेर अहमद खाँले ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेर एक बर्ष नपुग्दै सो सडक भत्किएको बताए। गत बर्ष मात्रै ठेकेदार कम्पनीले सो सडक निर्माणको काम सम्पन्न गरेको थियो। निगालिकोट देखि थुम्हवा, बेलासपुर हुँदै सेमरी सडक पनि अलपत्र परेको उनले बताए।
तिलौराकोट–जग्दिशपुर, निगालिकोट–सेमरी, सडवा–लक्ष्मीनगर, श्रीरामपुर, दलदलहा र कपियवामा एकै चोटि ७५ करोडको लागतमा १८ किलो मिटर पिचबाटो तथा नाली निर्माणका लागि सन्तोषी निर्माण सेवाको सम्झौता छ। सन्तोषी निर्माण सेवाले संघीय कार्ययोजना कार्यान्वयन इकाई भवन तथा शहरी कार्यालय रुपन्देहीबाट ०७४ कार्तिकमा सो सम्झौता गरेको थियो।
२०७८ वैशाख सम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने भाका रहे पनि निर्माण कम्पनीले सम्झौता गरेको अधिकांश बाटो र नालीको काम अहिले अधुरै छन्।








