अर्घाखाँची ।
अर्घाखाँचीमा वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्य अन्तर्गत दुई वर्षदेखि रोकिएको रुख कटानको कार्य सुरु भएको छ । वन व्यवस्थापन कार्यक्रमले यहाँका नागरिकको दैनिकी पनि सहज भएको छ ।
वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन मापदण्ड २०७९ लागू भएसँगै भएको रुख कटानको कार्य सुरु भएको हो। सरकारले वैज्ञानिक वन व्यवस्थापनमा अनियमितता भएको भन्दै विगत दुई वर्ष अघिदेखि रुख कटान रोक्दै आएको थियो । उपभोक्ताको अधिकारसँगै दैनिकी पनि सहज हुने कार्यमा विभिन्न बहाना बनाएर रोकिएको वन व्यवस्थापन कार्य लागू गरिएको लुम्बिनी प्रदेश वन निर्देशक जीवन पंगेनीले बताउनुभयो ।
अर्घाखाँचीमा ७४ हजार ३० हेक्टर वन क्षेत्रफल रहेको छ । जसमा ४ सय ४५ वटा सामुदायिक वन रहेका छन् । शितगंगा नगरपालिका– १३ मा रहेको धिरिखोला सामुदायिक वन उपभोक्ता समुहको सालको रुख कटान गरी कार्यक्रमको शुभारम्भ भइसकेको छ ।
योसँगै अन्य सामुदायिक वनमा पनि काम अगाडि बढाउने डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख ईश्वरी पौडेलले जानकारी दिनुभयो । रुख कटान गर्दा विभिन्न मापदण्ड बनाइएको छ ।
मापदण्डभित्र ’रुख रोपौं, वन जोगाऔं’ जस्ता विषयमा पनि सामुदायिक वनको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो ।








