पाल्पा ।
बुटवलबाट गुल्मी जाँदै गरेको बोलेरो जिपबाट राजस्व छली गरेर ल्याइएको सामग्री प्रहरीले बरामद गरेको छ । लु २ च ५४८९ नम्बरको बोलेरो जिपमा ९ सय ८२ केजी सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।
बरामद सामग्रीहरू ९ सय ८२ केजी चियापत्ती, ६ कार्टुन इम्लिमिठाइ, सनपापडी मिठाइ ५ कार्टुन गरी तीन लाख ६ हजार ५ सय साठी रुपैयाँ बराबरको सामान फेला परेको उनले बताए । उनका अनुसार बोलेरो गाडी र चालकसहितलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको सूचना अधिकारी थापाले बताए ।
बोलेरो जिपमा रहेका सामान गुल्मी लैजान लागेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पाल्पाको तानसेन, डुम्रे, बाँसटारीलगायत स्थानमा समेत त्यस्ता सामग्री भित्रिने गरेको छ । पाल्पा उद्योग वाणिज्य संघ र पाल्पा व्यापार संघले झोलेपोकेहरूले राजस्व छली गरेर त्यस्ता सामग्री भित्र्याउने गरेकाले यस्ता सामग्री नियन्त्रण गर्न माग गर्दै आएका छन् ।








