गृहपृष्ठ Featured वेष्टर्न क्रिकेट क्लबले जित्यो रूपन्देही सुपरलिगको उपाधि

वेष्टर्न क्रिकेट क्लबले जित्यो रूपन्देही सुपरलिगको उपाधि

प्रकाशित मिति:

रुपन्देही ।

नेपाल टेलिकम रुपन्देही सुपरलिगको उपाधि बीएम डब्लु वेष्टर्न क्रिकेट क्लब बुटवलले जितेको छ । शनिबार भैरहवामा सम्पन्न फाइनल खेलमा लुम्बिनी खुकुरी क्लबमाथि ५२ रनको जित निकाल्दै वेष्टर्नले उपाधि चुम्न सफल भएको हो । खुकुरीले उपविजेतामा चित्त बुझायो ।

उपाधिसँगै वेष्टर्नले १ लाख रुपैयाँ र ट्रफी हात पारेको छ । उपबिजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले ५० हजार र ट्रफी प्राप्त गर्यो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले मौसमका कारण ३६ ओभरमा झारिएको खेलमा २२।३ ओभरमा खेल्दै सबै विकेट गुमाएर जम्मा ९४ रनको झिनो योगफल बनाएको थियो ।

उसका लागि अनिलकुमार साहले २६, अनिल खरेलले २४ र देब खनालले २३ रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका साहव आलमले ५।३ ओभरमा १ मेर्डनसहित १७ रन खर्चेर ६ विकेट लिए । यस्तै, इकलाख वारिसले १ विकेट लिए ।

प्रतिउत्तरमा ९५ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी खुकुरी २०।१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ५२ रनमै समेटियो र उपविजेतामा चित्त बुझायो । खुकुरीका कुनै पनि खेलाडीले दोहोरो रन जोड्न नसक्दा टिमले सामान्य लक्ष्य भेट्टाउन नसकी हार ब्यहोरेको हो ।

खुकुरीका इकलाख वारिस र संदीप रजालीले सर्वाधिक ८–८ रन बनाए भने प्रज्वल थापाले ७ रन मात्रै जोडे । लुम्बिनी खुकुरीलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नकन बिष्णु पाण्डेले ४.१ ओभरमा १० रन खर्चिंदै सर्वाधिक ५ विकेट लिए । उनी म्यान अफ द फाइनल भई एक हजार रुपैयाँ प्राप्त गरे । यस्तै, अनिल खरेल र अभिषेक गौतमले समान २–२ तथा देब खनालले १ विकेट लिए ।

प्रतियोगितामा वेष्टर्नका अनिलकुमार साह म्यान अफ द सिरिज भए । उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै, लुम्बिनी खुकुरीका प्रज्वल थापा वेष्ट ब्याटर र इकलाख वारिस बेष्ट बलर बने भने बुटवल राइनोजका सुन्दर आले उदयीमान खेलाडी घोषित भए । उनीहरुले जनही ५ हजारका दरले पुरस्कार प्राप्त गरे । रुपन्देही क्रिकेट संघको आयोजनामा संचालित सुपरलिगको यो २२ औं संस्करण हो । २०५४ सालदेखि संघले नियमितरुपमा सुपरलिग आयोजना गर्दै आएको छ ।

नेपालमा जिल्लास्तरमा ५० ओभरको सुपरलिग आयोजना हुने रुपन्देही जिल्लामा मात्रै हो । प्रतियोगितामा ए र बी डिभिजनका गरी २० टिमको सहभागिता थियो ।

सम्बन्धित् समाचार